Colon Cancer Struggle: A Caregiver's Journey | Personal Story
आत्मपरक कथा: "कोलन क्यान्सरको संघर्ष: एक अभिभावकको यात्रा"
लेखक: फोटोग्राफर बिक्रम न्यौपाने
(कोलन क्यान्सर उपचारमा प्रत्यक्ष संलग्न एक अभिभावक र केयर टेकर)
परिचय: एउटा साधारण पेट दुखाइबाट सुरुवात
बि.सं. २०८२ साल कार्तिक २३ गतेको त्यो दिन मलाई कहिल्यै बिर्सिने छैन। मेरी श्रीमती सजना धिमिरेले निरन्तर पेट दुख्ने र वान्ता हुने समस्या शुरू गरिन्। दुखाइ यति भयानक थियो कि सास फेर्न पनि गाह्रो हुन्थ्यो। हामी ढुक्क नभई नजिकैको टोखा नगरपालिकामा रहेको ग्रान्डी इन्टरनेसनल हस्पिटल पुग्याैं ।
हाम्रो ग्यास्ट्रो एन्टरोलोजिस्ट डाक्टरसँगको पहिलो भेटमा उनले हामीसँग गहिरो परामर्श गर्नुभयो: विरामाको तौल कहिलेदेखि घटेको छ, ग्यास्ट्रिक इतिहास, कहिले के औषधि खानुभयो, थाइराइड, मधुमेह, ब्लड प्रेसरको अवस्था—सबै सोध्नुभयो। हामीले सबै ठिक छ, तर ३ महिनामा ३-४ केजी तौल घटेको होला भन्ने जवाफ दिएका हौं।
पहिलो झट्का: रगत कमी
डाक्टरको सल्लाह अनुसार हामीले CBC रगत परीक्षण र भिडिया एक्स-रे गरायौं। केही घण्टामै रिपोर्ट आयो: हेमोग्लोबिनको मात्रा धेरै कम थियो। डाक्टरले तुरुन्तै रगत चढाउन भन्नुभयो। रगत चढाएपछि अलि सुधार महसुस भयो, तर हामीलाई थाहा थिएन—यो त केवल सुरुवात मात्र थियो।
दोस्रो चरण: CT, एन्डोस्कोपी, र कोलोनोस्कोपीको सिफारिस
रगत चढाएको भाेली पल्ट डाक्टरले CT स्क्यान, एन्डोस्कोपी, र कोलोनोस्कोपी गर्ने सुझाब बताउनुभयो। तर हस्पिटलको CT मेसिन बिग्रिएको थियो, त्यसैले हामीले भिडिया एक्स-रे र एन्डोस्कोपी मात्र गरायौं। कोलोनोस्कोपी पछि गर्ने गरि रोकियाैं।
४-५ दिन अस्पताल बसाइपछि रगत र औषधिको सेवनले शरीर अलि राम्रो भएजस्तो भयो। हामी ७ दिनपछि फलोअपमा फर्कने विचारले हस्पिटलबाट निस्क्याै ।
तेस्रो भेट: समस्या फेरि बढ्यो
७ दिनपछि हामी फेरि अस्पताल पुग्यौं। श्रीमतीको शरीर कमजोर हुँदै गएको र तौल अझै कम भएको गुनासो गर्यौं। डाक्टरले औषधि परिवर्तनर्नुभयो। एन्डोस्कोपी रिपोर्ट राम्रो नै रहेको, भिडिया एक्स-रे ठिकै रहेको बताउनुभयो। तर फेरि पनि कोलोनोस्कोपी र CT गर्नै पर्ने जोड दिनुभयो , पेट दुखाइ भइरहदा काेलनाेस्काेपिले असहजता दिने हुनाले हामिले उक्त परिक्षण गरेका थिएनाै भने साथै सिटि गराउन पनि लगादात २ लिटर अाैषधि पानी खानु पर्ने जसले गर्दा पेटमा असर पर्ने हुनाले पनि हामिले याे परिक्षण पनि राेकि रहेका थियाै । केहि सहज हुने वित्तिक्कै यि दुवै परिक्षण गर्ने जमर्काे समेत गरेका थियाै ।
हामी फेरि अर्काे हत्ता पुग्याै र पेट दुखिरहेको कुरा राख्यौं तर CT गर्ने निर्णय गर्याै तर हस्पिटलको CT बिग्रिएको थियो, त्यसैले महाराजगञ्जमा CT गर्यौं र उही दिन रिपोर्ट अस्पताल पठायौं।
चौथो झट्का: आन्द्रामा पिप जमेको
CT रिपोर्टले हाम्रो हृदय चिर्दो सत्य प्रकट गर्यो : ठूलो आन्द्राको माथिल्लो भागमा २०५ mL पिप (pus) जमेको थियो। शरीर धेरै कमजोर भइसकेको थियो, त्यसैले हामी तुरुन्तै हस्पिटल भर्ना भयौं। रगत अझै बढी कम भइसकेको थियो, फेरि रगत चढायौं।
केही दिनपछि रेडियोलोजी मार्फत त्यो पिप निकालियो। १० दिन अस्पताल बसेपछि हामी डिस्चार्ज भयौं, डाक्टरकाे अादेश : १५ दिनपछि फेरि आउनुहोस्।
पाँचौं चरण: तौल अझ घट्यो, दिशा पातलो भयो
१५ दिनपछि हामी फेरि अस्पताल पुग्यौं। श्रीमतीको तौल अझै कम भएको, दिशा पहिलेजस्तै पातलो रहेको जानकारी गरायौं। डाक्टरले अब कोलोनोस्कोपी गर्नै पर्ने स्पष्ट भन्नुभयो। तर १० दिनअघि नै पिप निकालिएकोले १० दिनपछि कोलोनोस्कोपी गर्ने गरि हामीलाई विदा गरियो।
छथाँ भेट: व्यवस्थित निदान र क्यान्सरको संशय
हामी १०औं दिन अगावै नै असहज महसुस गरेर फेरि अस्पताल पुग्यौं। पहिले उपचार गरिरहेका डाक्टर उपलब्ध थिएनन्। हामीलाई डा. ए.के. काश्यप ज्यूले भेट्नुभयो।
तेही दिन उनले रगत दिएर भाेलि पल्ट कोलोनोस्कोपी गर्नै पर्ने स्पष्ट भन्नुभयो। हामीले उहाँको सकारात्मक सुझावलाई आत्मसात गरेर तेस्रो पटक हस्पिटल भर्ना भयौं।
कोलोनोस्कोपीको सत्य
भाेलि पल्ट कोलोनोस्कोपी गर्दै गर्दा क्यामरा कोलनको माथिल्लो भागमा जान नसकेको पता चल्यो। केही लिम्फोड नोडहरूले छेकेको थियो—जो स्थान पहिले पिप निकालिएको ठाउँ थियो, उक्त स्थानकाे सिधा तल रहेको डाक्टरले जानकारी गराउनुभयो।
पुरानाे CT काे पनि पुनः अध्ययन गर्नुपर्ने देखिएको थियो। साथै, उक्त नोडबाट बायोप्सीको लागि केही टुक्रा निकाली परीक्षणमा पठाउनुपर्ने भयो।
बायोप्सीको फाइनल रिपोर्ट आउन अझै समय लाग्ने भए पनि, डाक्टरले आफ्नो अनुभवहरू हामिलाइ जानकारि गराउदै
"यो कोलन सम्बन्धि क्यान्सर हुन सक्छ। यसको स्टेज पनि दोस्रो वा तेस्रो हुन सक्छ।" भनेर हामिलाइ उपचारमा लाग्न सुझाब दिनु भयाे
यसरी हामीले कोलन क्यान्सर पत्ता लगायौं।
यसरी हाम्रो यात्रा सुरु भयो—कोलन क्यान्सरको उपचारको संघर्षयात्रा। नेपाल र विदेशमा कहाँ उपचार गरियो, कस्तो समस्या भोग्यौं, उपचारको अवस्था कस्तो छ—यसबारे अर्को लेख मार्फत फेरि जानकारी गराउनेछु।
यो केवल मेरो परिवारको कथा होइन, यो हजारौं परिवारहरूको कथा हो जसले क्यान्सरको संघर्ष गर्दैछन्। आशा छ, हाम्रो अनुभवले अरूलाई पनि बाटो देखाउन सक्छ।
धन्यवाद,
फोटोग्राफर बिक्रम न्यौपाने
(कोलन क्यान्सर उपचारमा प्रत्यक्ष संलग्न एक अभिभावक र केयर टेकर)